काठमाडौं, १२ चैत
दोस्रो एकदिवसीय खेलमा तीन विकेटको जित निकालेसँगै पपुवा न्यु गिनी (पिएनजी) ले नेपालविरुद्धको एकदिवसीय शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय ७९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो ।
पिएनजीका लेगा सिएकाले सर्वाधिक ९० रन बनाए । उनले एक सय दुई बलमा १२ चौका र एक छक्का प्रहार गरे । यस्तै, रिले हेकुरेले ४८, सेसे बाउले ३८ र चार्ल्स एमिनीले ३५ रन बनाए ।
स्कोरबोर्डमा ७८ रन हुँदा तीन विकेट गुमाएको पिएनजीको इनिङ एमिनी र सिएकाले सम्हालेका थिए । यी दुई ब्याटरले चौथों विकेटका लागि एक सय १० रनको साझेदारी गरेका थिए ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै, पवन सर्राफले दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गरेको थियो । नेपालका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह सतकीय इनिङ खेलेका थिए ।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएको दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो ।
स्कोरबोर्डमा पाँच रन जोड्दा दुबै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए । देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो ।
एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए ।
यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भिम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरेका थिए ।
नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए ।
टोलीको खातामा आरिफ शेखले चार, सोमपाल कामी तीन रनमा अविजित रहेका थिए ।
पिएनजीका एलिइ नाओले तीन विकेट लिए । यस्तै, नोर्मान भानुआले दुई विकेट लिँदा चाड सोपर र चार्ल्स एमिनीले समान एक विकेट हात पारे।
यसअघि भएको पहिलो खेलमा शुक्रबार नेपाल पिएनजीसँग ६ रनले पराजित भएको थियो ।
एकदिवसीय शृंखला समाप्त भएसँगै सोमबारदेखि नेपाल र पिएनजीसँगै मलेसिया सम्मिलित त्रिदेशीय ट्वान्टी २० शृंखला खेल्नेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |