–कृष्णराज अधिकारी
जागिर के का लागि ? सर्वप्रथम त जागिर भनेको जिविकोपार्जन र भावि सन्ततीको उज्ज्वल भविष्यकै लागि हो जस्तो लाग्छ । यससँगसँगै आफ्नो व्यक्तित्व विकास, वृद्धि विकास र पेशागत सर्वश्रेष्ठ बनि सरोकारवालाहरुको सेवा दिनु पनि जागिर खानुको उद्धेश्य हो । उद्योग धन्दा, कलकारखाना बन्द व्यपार र ठेक्कापट्टाका लगानीहरु जोखिम युक्त हुनसक्छन् । त्यहाँ फाइदा पनि त्यत्तिकै हुन सक्छ र घाटा पनि जान सक्छ । तर सबैभन्दा कम जोखिमयुक्त पेश भनेको जागिर नै हो । त्यसमा पनि सरकारी सेवामा स्थायी प्रवेश पाउनुलाई हाम्रो तिर अझै पनि ठूलै अवसरको रुपमा लिने गरिन्छ ।
यिनै कारणहरुले गर्दा मैले पनि २२ वर्षकै कलिलो उमेरमा प्राथमिक शिक्षकको रुपमा स्थायी बनि विद्यालयमा प्रवेश गरे । तर यो पेशा मेरो इच्छा र चाहानाको नभै बाध्यताको थियो । मेरो सोच अन्त फड्को मार्न नसकुन्जेलका लागि धरातलमा टेक्नका लागि नै भनेर शिक्षक पेशा अंगालेको थिएँ । पछि साथीसँगी र तत्कालिन वातावरणले गर्दा म शिक्षकमै रमाएर बाँच्न थाले । प्राथमिक स्थायी भएको दुई चार वर्ष भित्रमै माध्यमिक तहको शिक्षक स्थायी हुन पुगें । ईन्जिनियरको सपना बोकेको छोरो खाँट्टी शिक्षक हुन आईपुग्यो ।
पेशाले शिक्षक बने पनि कानूनलाई पनि सँगसँगै अध्ययनको विषय बनाएको थिएँ । त्यसैले अभिवक्ताको नाताले २०४५ सालतिर धादिङ जिल्ला अदालत बार एशोसिएशनको संस्थापक सदस्यको रुपमा नाम राख्न पाएँ । त्यो मेरो लागि गौरबको विषय थियो । शिक्षक कार्यमा संलग्न रहँदै गर्दा पनि मैले बार एशोसिएशनको विभिन्न पदमा रहेर काम गर्ने मौका पाएको थिएँ र जुन कुरा अहिलेसम्म पनि निरन्तरता कायमै छ । बारको सदस्य भएको नाताले आफूलाई सुरक्षित भएको अनुभूति लाग्थ्यो । त्यसैले कही कतैबाट अनावश्यक दबाब आयो भने जुनसुकै दिनमा पनि जागिरबाट राजिनामा गर्न म तयार थिएँ ।
कुनै बेला शिक्षक नै बन्न नखोजेको यो मनुवाले आफ्नो यौवनको ३५ वर्षसम्म शिक्षण पेशालाई नै अवलम्बन गर्न पुग्यो । झण्डै १८ वर्ष त तत्कालिन जिल्ला शिक्षा कार्यालयको स्रोत व्यक्तिमा नियुक्त भै विद्यालय सुपरीवेक्षण निरीक्षण अनुगमन र समुदाय परिचालन सम्बन्धी काम मै बित्न पुग्यो । आफू लागेको क्षेत्रमा सर्वश्रेष्ठ हुने रहर कसलाई पो हुँदैन र? जुन कुरा म मा पनि जागृत हुनु स्वभाविक थियो । २०६५ सालमा म माध्यमिक द्धितीय श्रेणीको शिक्षकमा प्रमोशन भए । हालसम्म स्थायी शिक्षकहरुलाई तीन तहको व्यवस्था गरिएको छ । सुरुको नियुक्ति तृतीय श्रेणी, त्यसको निश्चित समय अवधीपछि द्धितीय र प्रथम श्रेणीसम्म बढुवा हुन सक्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको छ ।
धादिङ जिल्लामा त्यसबेला माध्यमिक शिक्षक प्रथम तह(सह सचिव सरह) हुनेहरु आठ जना मात्र थिए । मलाई पनि आफूलाई जिल्लाको सुरुका दश जना भित्र नाम लेखाउन पाए शिक्षक भएको सार्थकता हुन्थ्यो जस्तो लाग्यो । अब म जसरी पनि प्रथम श्रेणीका दश जना भित्र नाम लेखाउने गरी तयारी थालें । बढुवा भनेको समकक्षी साथीहरुसँगको प्रतिस्पर्धा भएकोले सबै कुरालाई सार्वजनिक गर्न मन लागेन । विश्वविद्यालय नै फरक गरी पढ्न सुरु गरें । सोचे जस्तै नतिजा निस्कियों । स्नातक तहको रिजल्टमा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । अब हुने आन्तरिक कार्य सम्पादनको बढुवामा मेरो स्कोर सबैभन्दा बढी हुने अवस्था थियो । म रिजल्टपछि बढुवाको विज्ञापन पर्खाइमा बसें । कुरा २०७३÷०७४ सालको हो । नभन्दै केही समयपछी प्रथम श्रेणीको बढुवाको विज्ञापन भयो । मैले प्रतिस्पर्धामा भाग लिए ।
केही महिनापछी नतिजा सार्वजनिक भयो । मैले सोचे अनुसार (भएन छ ) म २.५ नम्बरले पछाडी परें । स्व.अर्जुन बहादुर रिजालको नाम निस्कियो । मभन्दा उमेरले पनि धेरै वर्ष अगाडीको अनि शिक्षण पेशामा पनि धेरै अगडाीदेखि लागेको व्यक्तित्व यसमा मेरो कुनै दावी थिएन । तर उमेरमा भने सधैं संका लागि रहन्थ्यो । हामीले हेर्ने भनेको त्यही नागरिकता अनुसारको सिटरोलमा भएको जन्म मिति नै हो । गोह्रो अनुहार आकर्षक व्यक्तित्व हामी उहाँलाई प्रधान बा भनेर सम्बोधन गर्ने गर्दथ्यौं । प्रधान बा को बढुवा भोजमा म पनि सरीक भएँ । खुबै रमाइलो भएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा सरीक हुँदैे जेष्ठ महिनामा अनिवार्य अवकास हुन पुग्यो ।
त्यस बखत मेरो निरीक्षक क्षेत्र मलेखुतिर थियो । प्राय ः सधैं म फिल्ड र आफ्नै अफिसमै व्यस्त रहन्थे । मुलुकले संघिय गणतन्त्रको भर्खर अभ्यास गरी रहेकोले पालिकाहरुसँग पनि त्यत्तिकै सम्पर्कमा रहनु पथ्र्यो । प्रधान बा को निवृत्ति भरण –पेन्सन पट्टा) बनाउँदा लफडा परेछ । उहाँको प्रमाण पत्र र नागरिकताको जन्म मितिमा फरक परेको रहेछ । शिक्षक किताब खानाले दुई वर्ष अगाडी देखिको सबै तलब भत्ता फिर्ता हुने गरी मावि द्धितीय श्रेणीबाट पेन्सन खान पाउने गरी पेन्सन पट्टा बनाई दिएछ । बुढाको घर र बसोबास पनि उतै काठमाण्डौं मै किताब खाना पनि उत । धादिङ आउने कारण पनि त थिएन । त्यसमा एक पटक प्रथम श्रेणीको नियुक्ति पाई भोज समेत खुवाई सकेको व्यक्ति कसरी साथीहरुसँग मुख देखाउनु जस्तो लाग्यो होला ? यो घटना मैले झण्डै १६ महिना पछि मात्र थाहा पाएँ । जुनबेला मलाई घटनाको बारेमा थाहा हुन पुग्यो । त्यसबेला सोही पदमा विज्ञापन भै लिखित परीक्षा समेत भइरहेको थियो । आफ््नो त बढुवा भएन नै मलाई समयमै जानकारी गराएको भए मैले त नियुक्ति लिने अवसर पाउँथे । अब प्रधान बुढालाई पनि डिप्रेसन भएछ । मलाई पनि तनाव सिर्जना भयो । यसबखत म बार एशोसिएशनको उपाध्यक्ष थिए । जागिर छोडेर आउने भए तलाई अध्यक्ष बनाउछौ भनि साथीहरुको प्रस्ताव आउँथ्यो । मेरो हजुरबुवा दिव्यकान्त अधिकारी धादिङको पहिलो वकिल रे जुन कुरा सर्वोच्च अदालतका पूर्व न्यायाधिश ज्ञानेन्द्र बहादुर श्रेष्ठको मुखबाट पहिलो पटक सुन्न पुगें । त्यही बेलादेखि नै ममा एक दिन बार एशोसिएशनको अध्यक्ष हजुरबुबाको इच्छा पुरा गर्नुपर्छ भन्ने अभिलाषा जागृत भएको थियो ।
बढुवाको घटनाको बारेमा कानून व्यवसायी साथीहरुसँग पनि परामर्श लिएँ । बढुवाको फाराम नै भर्न नपाउने व्यक्तिले फारम भरी बढुवाको नियुक्ति लिनु कानूनलाई पनि अत्यन्तै त्रुटीपूर्ण थियो । यस घटनामा जिल्ला शिक्षा कार्यालय शिक्षक किताब खाना र शिक्षक सेवा आयोग सबै कसुरका भागेदार हुने थिए । तर मैले मुद्दा गर्न तर्फ लागिन । मुद्दा गर्दा समय र रुपैयाको बर्बाद खासै आर्थिक फाइदा नहुने अनि आफूलााई एकछिन पनि जागिर खान मन नभएको । दिन रात मेरो मनमा राजिनामा दिनुको केही विकल्प आएन ।
२०७६ साल बैशाख १ गते नयाँ वर्षका दिन कानून व्यवसायी अत्यन्त मित्रहरु टंक कुमार श्रेष्ठ र रामचन्द्र भट्टका साथ हामी मनाङको चामेमा थियौं । चारैतर्फ हिउँ परीरहेको थियो ।
चामे बजारको बीचबाट कलकल मस्र्याङ्दी बगीरहेकी थिइन् । मैले गोजीबाट जागिरको राजिनामा निकाली साथीहरुलाई देखाएँ अनि भनें लौ साथी हो तपाईहरुले मलाई बार एशोसिएशनमा कहिल्यै विश्वास गर्नु भएन यही कागजले गर्दा आजबाट हिमालबाट बग्ने मस्र्याङ्दीको सरणमा पर्दै तपाई दुई जनालाई साक्षी राखी जागिर खोलामा बगाउँदै छु । भोलीका दिनमा आउन सक्ने कठीनाइहरुमा साथ दिनुहोला भन्दै मैले जागिर मस्र्याङ्दी नदीमा बगाए । पत्र तैरदै तैरदै बग्दै थियो । देखुँजेलसम्म हामी तीनै जनाले हेरी रह्रयौ । साथीहरु हाँस्नु भयो । एक जनाले यो नाटक हो भन्नु भयो तर यो कानूनी नभए पनि मेरो लागि यथार्त थियो । जुन कुरा सोही महिनाको ५ गते घरमा साना कन्या नानीछोरीहरुलाई टिका लगाई साइत गरी कार्यालयमा गई स्वीकृत गराएँ । हाकिम त आफ्नै ज्वाई हुनुहुन्थ्याो तर मैले उहाँसँग पनि त्यति सल्लाह लिन जरुरत ठानिन । यसरी मैले हाँसी हाँसी सेवाबाट विश्राम लिए ।
मेरो जीवनमा कहिल्यै बिर्सन नसक्ने पीडादायी यो घटना र भोगाईहरु अन्य साथीहरुलाई कहिल्यै नपरोस् भन्ने कामना पनि गर्दछु । यस लेखबाट अवश्य पनि स्थायी सेवारत शिक्षक र कर्मचारी मित्रहरुलाई केही नौलो अनुभूति हुने आशा पनि लिएको छु । अस्तु ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |