राजु झल्लु प्रसाद
धादिङ,११ चैत
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा अगाडि सार्ने प्रयासको निरन्तरता स्वरूप दोस्रो जलमूखी माई महोत्सव तथा होली विशेष कार्यक्रम-२०८० चैत्र ११ गते हुने भएको छ । यस सन्दर्भमा रहेर मन्दिरको ऐतिहासिक, सांस्कृतिक एवम् धार्मिक महत्त्वबारे चर्चा गर्नु प्रासंगिक हुन्छ ।
१. जलमूखीदेवी उत्पत्तिको किंवदन्ती
जलमूखी देवीको अस्तित्व कहिलेदेखि आयो भन्ने आधिकारिक प्रमाण उपलब्ध छैन । यद्यपि स्थानीय रूपमा प्रचलित किंवदन्तीले हामीलाई ४१० वर्षअघिसम्म लान्छ । लगभग ४१० वर्ष पहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) साबिकको चैनपुर गाविसस्थित सुनखानी गाउँका एकजना विश्वकर्मा थरका वयोवृद्ध (कामी बुढा) अरू बेलाजस्तै गरी पानी भर्न कुवामा गएका थिए । बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी भर्न कोसिस गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो । उनले त्यस शिलालाई कुवाबाट बाहिर निकाली कुवाको माथितिर फालिदिए र पानी लिएर घरमा गए ।
अर्को बिहान पनि विश्वकर्मा थरका वयोवृद्ध पानी भर्न गए, तर अघिल्लो दिनको घटना दोहोरियो । कोही गोठाला वा उरन्ठेउला मान्छेले कुवामा ढुङ्गा फालिदिएछ, भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा फालिदिए र पानी लिएर घर गए । त्यो प्रक्रिया तेस्रो दिनमा पनि दोहोरियो । उनी आश्चर्यचकित भए र त्यस शिलालाई कुवाको माथिपट्टि राखेर पानी लिई फर्किए । सो साँझ उनले सपना देखे । सपनामा देवीले दर्शन दिइन् र भनिन्, “म जलमुखी देवी हुँ, तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्च स्थानमा राखेर पूजाआजा गरे म यहाँका सबैको कल्याण गर्नेछु ।” यति भनिसकेर देवी अन्तर्ध्यान भइन् । विश्वकर्मा थरका वयोवृद्धको सपना टुट्यो ।
उनी पहिलेजस्तै गरी कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला कुवामा नै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठुलाबडाहरूलाई भेला गरी विगत तीन दिनदेखि भएको घटना र सपनासमेतको वर्णन गरे । सबै गाउँलेहरू जम्मा भए र कुवामा गए । उनीहरूले वेद मन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल साल वृक्षको फेदमा स्थापना गरी नित्य पूजाआजा गर्न थाले । यसप्रकार सो जलको मुखबाट निस्किएको शिलालाई एउटा सालको रूखमुनि स्थापन गरि लामो समयसम्म पूजापाठ गरिँदै रहियो । हाल यस ऐतिहासिक कुवाको संरक्षणको माग समेत उठिरहेको पाइन्छ । यस किम्दन्ति करिब ४१० वर्ष अगाडिदेखि प्रचलनमा आएको भेतिनाले जलमूखी मन्दिरको उत्पति भएको करिब ४०० सय वर्षभन्दा बढी भएको अनुमान गर्न सकिन्छ । यसप्रकार पुरातात्त्विक महत्व रहँदा पनि यसले महत्त्वपूर्ण स्थान र चर्चा-परिचर्चा पाउन नसक्नु दु:खद छ ।
२. धादिङको प्रथम साहित्यकार ‘दैवज्ञकेशरी’को समयमा बन्यो मन्दिर:
जलको मुखबाट निस्किएको शिलादेखि मन्दिर निर्माणसम्म आइपुग्न हामीले धादिङको प्रथम साहित्यकार ‘दैवज्ञकेशरी’ अर्ज्यालको सुनखानी आगमनको प्रसंगलाई स्मरण गर्नुपर्ने हुन्छ ।गोरखाका शाह वंशीय राजाहरूको राज्य सञ्चालन तथा एकीरणमा अर्याल वंशको मनग्ये योगदान भेटिन्छ । गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहको दरबारका गुरु पं. नारायणदास अर्ज्यालले द्रव्य शाहलाई राजा बनाउनमा ठुलो भूमिका खेलेका थिए । त्यसपछि तीन सय वर्षसम्म अर्ज्यालहरूले गोरखा दरबारमा राजपुरोहितका काम गरे । यस अर्ज्याल वंशमा धेरै विद्वान् ज्योतिषी र कविहरू पैदा भए, जसमध्ये एक दैवज्ञकेशरी अर्ज्याल हुन् ।
दैवज्ञकेशरी अर्ज्याल (१८२५- १८९३) २५ वर्षको उमेर (वि.सं. १८५० आसपास) मा काठमाडौंदेखि निकाला भई धादिङ जिल्लाको साबिकको चैनपुर गाविसस्थित सुनखानी (हाल ज्वालामूखी गाउँपालिका-६) मा रहेको आफ्नो पुर्ख्यौली बिर्तामा बसी यिनले साहित्य साधना गरेका हुन् । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पं. चक्रपाणि अर्ज्याल (अर्याल) ले साबिकको चैनपुर गाविसस्थित सुनखानीमा बिर्ता पाएका थिए । र, यिनै यिनै दैवज्ञकेशरीले सुनखानी आइसकेपश्चात् गाउँको शिरमा सालको फेद मुनि पुजिदै आएकी जलमूखी माईको मन्दिर निर्माणको नेतृत्व गरेको अड्कल काट्न सकिन्छ । अर्ज्याल वंशको शाह वंशको सन्निकटता र सो समयमा छिमेकी गोरखाका व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम रहेकाले जलमूखी मन्दिर यसै समय निर्माण भएको देखिन आउँदछ । थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमूखी मन्दिर पनि निर्माण हुनु धेरै सम्भव छ । भीमसेन थापाले बुङ्कोटघाटमा सत्तल, कालिका शिवालय सत्तल, खरिकोट (त्रिपुरासुन्दरी माइको थान) लाई गुठि बक्सिस, माख्लो हटियामा भीमसेनस्थान निर्माण आदि गरेको देखिन आएकाले सोहीताका दैवज्ञकेशरी अर्ज्यालको सल्लाहमा जलमुखी मन्दिर निर्माणलाई अगाडि बढाएका हुन् भन्न सकिन्छ । सो समयमा साविकको मैधी राज्य (राजधानी: गढीडाँडा) गोर्खा अन्तर्गत रहेकाले पनि यस कार्यमा भीमसेन थापाको सहयोग रहनु स्वाभाविक देखिन्छ । तर, कतै पनि भीमसेन थापाको नाम रहेको नभेटिनाले मन्दिर निर्माणमा स्थानीय सरसहयोग र दैवज्ञकेशरीले नै खर्च गरेको पनि हुन् सक्दछ । यस हिसाबले जलमूखी शिलाको संरक्षणको लागि मन्दिर निर्माण भएको २२३ वर्ष भयो ।
यसप्रकार यिनै दैवज्ञकेशरीले जलमूखी मन्दिर निर्माणपश्चात् मन्दिरमा चढाएको घण्टको घण्टाभिषेकले हामीलाई जलमूखी मन्दिरको इतिहास केलाउन सहयोग गरेको छ, तर बिडम्बना ३२ धार्नी १ सेर र ४ तोला वजनको सो घण्ट २०६० सालको कार्तिक महिनामा चोरी भइसकेको छ । ऐतिहासिक सो घण्ट चोरी भइसकेको भएतापनि पुरातत्त्व विभागले २०३२ सालमा गरेको रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमणमा उतारिएको सो घण्टाभिषेक यसप्रकार छ;
२.१. वि. सं. १८५७ मा दैवज्ञकेशरीले चढाएको घण्टको घण्टाभिषेक-
श्री मुनिबाणाष्ट विधुभिम्मिते विक्रमबत्सरे ।
ज्वालामुखी प्रीतिहेतो पुण्ये दशहरा तिथौ ।। १
स्तम्भद्वयाद्वारशोभां श्रृ खला कुटलम्वबनीम् ।
समर्पयेदिमां घण्टा द्विजो दैवज्ञ केशरी ।। २
शुभमस्तु ।। धानि ३२ सेर १ ।। तोला ।। ४ ।।
(स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)’
यस घण्टाभिषेकले वि.सं. १८५७ को दशहरा तिथिका दिन दैवज्ञकेशरी अर्यालले यस मन्दिरमा घण्ट चढाएको थाहा हुन् आउँछ । मन्दिर निर्माणपश्चात् नै घण्टा चढाइने हुँदा दैवज्ञकेशरीको सुनखानी आगमन वि.सं. १८५० आसपास भएको अनुमान गर्न सकिन्छ । याद रहोस्, इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित पुराना कवि र कवितामा यिनको परिचय दिँदै ‘वि.सं. १८६३ मा दैवज्ञकेशरी काठमाडौंबाट निकाला भएका कारण सुनखानी गाउँमा आफ्नो बिर्ता जग्गामा गएर बसेका थिए, त्यहीँ विद्यारण्यकेशरीको जन्म भएको थियो” भनेता पनि यस घण्टाभिषेकले शिरोमणिले गलत मिति उल्लेख गरेको पनि प्रष्टाउदछ ।
मन्दिरको ऐतिहासिकतालाई प्रतिनिधित्व गरिरहेको सो घण्ट बिहानको नित्य पूजाको क्रममा पुजारीको आगमन र भक्तजनको आगमनपश्चात् रन्किएर बज्दा वरपरका गाउँलेहरू सुन्न सक्दथे । सो ऐतिहासिक घण्ट स्थायी रूपले हराएपश्चात् मन्दिरको पहिचान गुमेको महसुस सबैले गरेका छन् । भुइँचालोपश्चात् पुनर्निर्माण गरिएको यस मन्दिरले हालैसम्म पनि सो ऐतिहासिक घण्टको झल्को दिईरहने ज्वालामूखी वडा-३ निवासी रेवतीरमण भट्ट बताउँछन् । “मेरो सालो ‘कृष्ण अर्याल’को बिहे त्यहि मन्दिरमा भएकाले मलाई त्यस बडेमानको घण्टको तौल राम्रैसँग याद छ । साङ्लोले बाँधेर राखेको सो घण्ट उचालेको थिएँ, घण्ट उचालेमा गानो गएको बिसेक हुन्छ भनिन्थ्यो । त्यसपछि मलाई गालो गएको छैन, सत रहेछ ।”, उनी भन्छन् । (भट्ट पंक्तिकार झल्लु प्रसादको पिता हुन् ।)
हाल मन्दिर परिसरमा साना-ठुला ४ वटा घण्टहरू झुन्डिएका छन् । मन्दिर क्षेत्रमा निर्माण कार्य भइरहेको हुँदा दैवज्ञकेशरीको सो घन्टभिषेकलाई कुनै एक उपयुक्त स्थानमा उद्धृत गरि राख्नु श्रेयस्कर हुन्छ ।
३. ढलौटको सिंह पनि रहेन:
चोरिएको घण्टको कथापश्चात् हामी चोरिएको ऐतिहासिक ढलौटको सिंह कथालाई अगाडि सार्नेछौं । पहिले रहेको मन्दिरमा ढलौटको एक विशाल सिंहको मूर्ति थियो । हाल सिमेन्टले कुँदेर सिंह राखिएको छ, तर यसलाई ढलौटकै राख्दा उपयुक्त हुने देखिन्छ । यस सिंह कसले चढाएको हो भन्नेबारेमा सिंह चढाई समर्पण गर्दाको ताम्रपत्रले यस्तो बताउँदछ;
३.१. सिंह चढाई समर्पण गर्दाको ताम्रपत्र:
श्री मद्गंगा बहादुर इति सुकृतिना चीक कर्णेल नाम्ना
मासेस्मिन्विक्रमाS व्दे रसवसुनव भू (१९८६) सम्मिते
ह्याश्विनेहा/धा
भक्त्यासिंहोन्यवेदि त्रिभुवन नमिते ज्वालिके प्रीतयेते
भक्त दीनं वरेप्सुं चरण शरणगं पाहिमातर्नमस्ते ||१|,
चीफ कर्णेल भनी वडा भगत श्री गङ्गावहादुरले ।
उण्डैस्सौं र छ्यासि सम्वत् महां अर्पण गरें प्रीतिले
हे ज्वालामुखी मायि यो हजुरका सिंहै चरणमा रहोस्
वर इच्छा गरी भक्त छू चरणमा रक्षा सदा गर्नु होस् ॥२
(स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)
चिफ कर्णेल गङ्गाबहादुरले वि.सं. १९८६ सालमा ढलौटको सिंह देवीको शरणमा चढाएको व्यहोरा यस ताम्रपत्रले बोल्दछ । अध्येता हरि खनालका अनुसार, हाल नित्य पूजा चलाइरहेका लक्ष्मण शाक्यसँग सो ताम्रपत्र रहेको छ । माथि उल्लेखित गरियो, हाल चिफ कर्णेल गङ्गाबहादुरले चढाएको सिंहको मूर्ति छैन । ढलौटको विशाल सिंहको मूर्ति सँगसँगै मन्दिरबाट जल स्वर्णमुकुट पनि चोरी भएको हो । वि.सं २०३८ तिर करिब प्रन्ध्र दिनको अन्तारलमा ती दुवै अमुल्य वस्तु चोरिएको पुजारी लक्ष्मणको हवाला दिँदै खनालले उल्लेख गरेका छन् । ढलौटको सिंह चोरिएर विदीर्ण भएको मन्दिरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य श्री हरिबहादुर थापाले हालको सिमेन्ट निर्मित सिंह राख्न लगाएका हुन् ।
४. जलमूखी माईको नित्य पूजाको व्यवस्थाका लागि भएको लालमोहर (ताम्रपत्र)
अब हामी जलमूखी माईको नित्य पूजाको व्यवस्थाका लागि भएको लालमोहरका सम्बन्धमा चर्चा गर्नेछौं, जसले देवीको इतिहास एवं मन्दिर निर्माणकालबारे बताउँदछ ।
१८४९ साल वैशाष सुदी १५ रोज
“आगे नीगालपानीका श्री ज्वालामुखी दैवीलाई अघिका उभ्राउले पानी मुणी माथिका बेहोरोनु समेत मुरी । २० गुठी खेत वहाको रहेछ । तसमाथि आसी खोला पारी साङकोसेले विरायेको बेहोरौटको मुरी । २० स्मेत जम्मा मुरी । ४० खेत हठी आफ्नी खोलो सावारी भित्रमा पुरुबेसी ३ जन्याको उनारी समेत मुरी गरी चढाएको तस्को पुजा- हारी वैद् देवधरज वाडालाई बकस नीत्यैनैनीले पूजा गर्नु तसको सेखि वाहीरह पाको गुठी भोगगरे” यो लालमोहर वैद्य धनराज वाँडालाई बकस नीत्यैनैनीले पूजा गर्नु तसको सेखि वाहीरह पाको गुठी भोगगरे” यो लालमोहर वैद्य धनराज वाडालाई वि.सं. १८४९ वैशाखमा मा श्री ५ महाराजाधिराज रणबहादुर शाह (१८३४-१८५५) मा बक्सेका हुन् । (स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)२०३२ सालमा विभागद्वारा देवीप्रसाद लम्साल, बलराम चित्रकार र राधेश्याम भट्टराईद्वारा ‘रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण’ गरिएको थियो, जसअनुसार, “शिलरूप माईको मूतिका वरिपरि उनका गण रहेका थिए । ती कुनै अंगप्रत्यंग अर्थात् मूति नै छन् त कुनै शिला रूपमा रहेका थिए । अग्लो थुम्कोमा अवस्थित सो मन्दिरको भित्री भाग १.९५ x १.८४ मिटर छ भने बाहिरी घेरा ३.४७ × ३.४७ मिटरको रहेको थियो । हाल नयाँ मन्दिर नयाँ संरचनामा बनिसकेको हुँदा यसमा फेरबदल आएको छ ।
५. पूजा र गुठ:
जलमूखी माईका पुजारीवंश परम्परागत रूपमा बाँडाहरू हुन्छन् । पूजा बिहानबेलुका अटूट हुन्छ । मन्दिरमा नित्य पूजाआजा चलाउनका लागि दुई किसिमका गुठीहरूको व्यवस्था गरिएको छ । पूजारी र दमाई (वाजे) हरूका निम्ति सरकारी गूठको प्रबन्ध छ । करिब २२४ मुरी माटोको गुठी व्यवस्था रहेको छ ।जलमूखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्ने व्यवस्था छ । यसबाहेक दसैँको बेला गरिने नवरात्री पाठ, महाअष्टमीमा गरिने बली पनि यस मन्दिरको अर्को विशेषता हो । बर्सेनी धान्य पूर्णिमाका दिन विशेष पूजा गर्ने प्रथा हालसम्म छँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन तथा फागु पूर्णिमाका साँझ यो मन्दिरमा मेला लाग्ने गर्दछ । मेलामा, काठमाडौं, छिमेकी पालिका, गोरखादेखि नुवाकोटसम्मका श्रद्धालुहरू आउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनहरूले बाबियोले बनेको डोरीमा रङ्गीचङ्गी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चेबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिर आउने चलन छ । मन्दिरको वरिपरि फूलको डोली बाँधेर बडाँ दिने गर्दछन् । अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर तेलको बत्ती बाल्दछन्, कतिपयले यो मन्दिरमा महाद्विप पनि बाल्दै आएका छन् । मानिसहरूले भजन, कीर्तन, नाचगान गर्दछन्, जलमूखीदेवीको नाममा पूजाआजा तथा गौदान गरेपछि मात्र फूल विसर्जन गरी घर जाने चलन थियो ।
६. जलमूखी मन्दिरको प्रचार एवं जात्रा संरक्षणका लागि महोत्सव:
हाल ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा अगाडि सार्ने प्रयास स्वरूप २०७९ सालदेखि यहाँ महोत्सवहरू आयोजना हुँदै आइरहेका छन् । यस वर्ष दोस्रो जलमुखी माई महोत्सव तथा होली विशेष कार्यक्रम-२०८० चैत्र ११ हुँदै छ, जसमा दीपक खड्का, नवराज काप्री (भाले), सुमित्रा तामाङ, नारायण खत्री, सेताराम परियार लगायतका कलाकारको उपस्थिति रहने बताइएको छ ।
२०७९ साल फाल्गुन २१ गतेदेखि २३ गतेसम्म चलेको प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव-२०७९ मा राष्ट्रिय ख्यातिप्राप्त कलाकारसहित इन्द्रेणी टिमको उपस्थिति रहेको थियो । जलमूखी मन्दिर संरक्षण समिति, ज्वालामूखी गाउँपालिका (वडा-६) र नीलकण्ठ नगरपालिका (वडा-९)ले महोत्सवलाई निरन्तरता दिइरहेका छन्, जसले आगामी दिनहरूमा मन्दिरको पुरातात्त्विक, ऐतिहासिक अध्ययन कार्य थाल्ने एवं प्रचारप्रसारलाई अझ व्यापक बनाउन आवश्यक देखिन्छ ।
सन्दर्भ-स्रोत सूची:
१. रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण, पुरातत्त्व विभाग, २०३२
२. मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ, २०६८
३. पुराना कवि र कविता, बाबुराम आचार्य
४. जलमूखी मन्दिरको ऐतिहासिक विवेचना, राजु झल्लु प्रसाद, हिमालदर्पण, २०७९
५. देवी नेपाल: खण्डकाव्य के हो र कसरी लेखिन्छ ?, साहित्यपोस्ट, २०७९
६. धादिङको प्रथम साहित्यकार ‘दैवज्ञकेशरी’ र ‘जलमूखीदेवी’: एक ऐतिहासिक चर्चा, प्रेम बास्तोला,राजु झल्लुप्रसाद, टुरशाला, २०८०
७. जलमूखी (ज्वालामूखी) माईका दुई थरि जात्रा: कार्तिक पूर्णिमा र फागु पूर्णिमाको मेला, राममणि दुवाडी, टुरशाला, २०८०
८. आफ्नै कर्मथलोले बिर्सिएको धादिङकै प्रथम साहित्यकार ‘दैवज्ञकेशरी अर्ज्याल’ (खोजमूलक ऐतिहासिक चर्चा),राजु झल्लु प्रसाद, साहित्यपोस्ट, २०८०
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |