धादिङ,२१ पुस
अस्मिता पोखरेल
धादिङबेसीको खानेपानी अभाव अन्त्य गर्न सुरु भएको सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाको काम असार मसान्तभित्र सम्पन्न हुने आशा गरिएको छ। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि. का प्रबन्धक निर्देशक सहदेव खड्काले यो म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यो परियोजना सम्पन्न भएपछि नीलकण्ठ नगरपालिकाका वडा नम्बर २, ३, ४ र १२ का हजारौं स्थानीयवासी लाभान्वित हुनेछन्। परियोजनाको मुख्य उद्देश्य धादिङबेसी क्षेत्रमा व्यवस्थित, वैज्ञानिक र आधुनिक तरिकाबाट पानीको वितरण सुनिश्चित गर्नु हो।
सह–लगानी मोडेलमा सञ्चालन भइरहेको यस परियोजनामा ७० प्रतिशत रकम सह–लगानी कोषबाट र बाँकी ३० प्रतिशत स्थानीय समुदायको सहभागिताबाट व्यवस्थापन गरिएको छ। हालसम्म भौतिक प्रगति ५३.०५ प्रतिशत र वित्तीय प्रगति ४९.३९ प्रतिशत पूरा भएको छ।
निर्माण कार्य अन्तर्गत खानेपानी कार्यालय भवन निर्माण, प्रसारण पाइपलाइन र वितरण पाइपलाइन ः अल्छिडाँडा, अधिकारी डाँडा, राम्चे, डाँडागाउँ, भानुपार्क र भुलभुले क्षेत्रका कामहरू अन्तिम चरणमा पुगेका छन्। तर, खानेपानी प्रशोधन केन्द्रको निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन।
परियोजना निर्माणमा केही स्थानमा स्थानीय विवादका कारण ढिलाइ भएको छ। यद्यपि, नगर प्रमुख भीम प्रसाद ढुंगानाले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “यदि असार मसान्तसम्म काम सम्पन्न भएन भने भुक्तानी रोक्ने र कम्पनीलाई कालोसूचीमा राखिनेछ।”
परियोजना सम्पन्न भएपछि धादिङबेसीको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरु यो आयोजना सफल हुनुपर्नेमा आशावादी छन्। राम्चेका ४५ वर्षीय रमेश अधिकारीले भन्नुभयो, “हामीले यो परियोजनाको पूरा हुन धेरै समय कुर्दै आएका छौं। अब काम समयमा सकियो भने पानीको अभावबाट राहत मिल्नेछ।”
खानेपानीको वितरण वैज्ञानिक र आधुनिक प्रणालीमार्फत हुनेछ। यसले मात्र धादिङबेसीको खानेपानी समस्या समाधान गर्ने छैन, नगरपालिकालाई अन्य क्षेत्रका लागि उदाहरणीय बनाउनेछ। परियोजनाका काम समयमा सम्पन्न भएमा यो आयोजना नीलकण्ठ नगरपालिकाको विकास यात्रामा महत्त्वपूर्ण योगदान दिनेछ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |