धादिङ, ११ माघ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४८ जना बालबालिकालाई विद्यालय पोशाक, झोला, र शैक्षिक सामग्री वितरण गरिएको छ। यससँगै वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत एक हजार १०५ जना बालबालिकालाई पनि शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ।
बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न र शैक्षिक सामग्रीको अभावका कारण विद्यालय नियमित जान नसकेका बालबालिकालाई प्रोत्साहित गर्ने उद्देश्यले यो सहयोग गरिएको हो। “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत गरिएको यस सहयोगले बालबालिकालाई विद्यालयमा उपस्थित हुन प्रेरित गर्ने र पठनपाठनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका दौरान प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि प्रयास नेपालले निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डिएस अफिसर श्रीकान्त लुइँटेल, र राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अर्याललगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक गणेश अर्यालले शैक्षिक सामग्रीको उपलब्धताले बालबालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे। “बालबालिकाले पढ्न र सिक्न चाहन्छन्, तर शैक्षिक सामग्रीको अभावले उनीहरूको यो चाहना अधुरो रहन्थ्यो। अहिले गरिएको सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।
प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोग कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बालबालिकाको उत्साह र खुशीले आफूहरूलाई थप प्रेरित गरेको पनि उहाँले बताउनुभयो ।
बाल अधिकार, शिक्षा, र समग्र विकासका लागि प्रयास नेपाल धादिङले महत्त्वपूर्ण योगदान दिँदै आएको जानकारी संस्था फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले दिएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |