धादिङ, २४ चैत्र ।
अस्मिता पोखरेल ।
संघीय राजधानी आउजाउ गर्ने मुख्य मार्ग हो नौबिसे नागढुंगा सडक । नागढुङ्गादेखि नौबिसेसम्म १२.२६ किलोमिटर सडकको काम अहिले सत्तरी प्रतिशत सकिएको छ ।
तीन खण्डमा सडक विस्तारको काम भइरहेको मुग्लिङ–नागढुङ्गा सडकको एउटा खण्डको काम सत्तरी प्रतिशत सकिएको हो । यो सडक स्तरोन्नतिको काम सुरु भएको दुई वर्ष १० महिना पुरा भयो । अहिले पनि धमाधम काम भइरहेको छ ।
यो सडकखण्डको १२.२६ किलोमिटरमध्ये साढे ११ किलोमिटर ड्रेन निर्माण सकिएर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको नागढुङ्गा–मुग्लिङ सडक पूर्वीखण्डका योजना प्रमुख केशव ओझाले जानकारी दिनुभयो ।
‘नौबिसेबाट खत्रिपौवाको पुल हुँदै सुरुङ मार्गसम्मको सडक कालोपत्रे सकिनेछ’, योजना प्रमुख ओझाले भन्नुभयो –‘बाँकी भागलाई यसै आर्थिक वर्षभित्र नागढुंगासम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।’
खत्रीपौवा र नौबिसेमा दुईवटा पुल निर्माणाधीन अवस्थामा छन् । खत्रीपौवाको पुल निर्माण अन्तिम चरणमा छ । असार मसान्तसम्म सम्पन्न गर्ने लक्षसहित नौबिसेको पुलमा काम भइरहेको छ ।
त्रिभुवन राजपथको नागढुंगादेखि पृथ्वीराजमार्गको मुग्लिनसम्म तीन वटा प्याकेजमा छुट्टाछुटै ठेक्कामार्फत सडक स्तरोन्नतिको काम सुरु गरेको हो । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ ।
नागढुंगा–नौबिसे खण्डको कामले पछिल्लो समय गति लिएपनि नौबिसे–मलेखु खण्डको काम भने सुस्त देखिएको छ । नौबिसे–मलेखु सडकखण्डको निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको योजना प्रमुख ओझाले बताउनुभयो । यो खण्डमा हालसम्म ३२ प्रतिशत काम भएकोे छ ।
४३.५४ किलोमिटरमध्ये ३० किलोमिटर सडक कटिङ गर्ने काम सकिएको छ भने बाँकी १३ किलोमिटर अप्ठ्यारो तथा विवादित क्षेत्र रहेकाले कार्य अघि बढ्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । निर्माण कार्यमा विभिन्न समस्या देखिएका छन् । योजना प्रमुख ओझा भन्नुहुन्छ, “निर्माण सामग्रीको नियमित आपूर्ति नहुँदा काममा ढिलाइ भएको छ । बाढीपहिरो, विद्युत् पोल स्थानान्तरण, रुख कटान तथा स्थानीय विवादका कारण पनि निर्माण कार्य प्रभावित भइरहेको छ ।”
नौबिसे–मलेखुखण्डको हालसम्म सात किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको र १६ किलोमिटर सडक यसै वर्ष कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । बाँकी नौ किलोमिटरमा कुनै समस्या नआए यो आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार बाँकी खण्ड अर्को वर्ष सम्पन्न गरिने छ ।
मलेखु–नागढुंगा खण्डमा १३ वटा पुल निर्माण गरिँदैछ । त्यसमध्ये तीन वटा पुलमा गाडी सञ्चालन भइसकेको छ भने ४ वटा पुल आपतकालीन अवस्थाका लागि तयार छन् । बाँकी तीन वटा पुल असारसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । तर, अन्तिम तीन वटा पुलको काम मंसिर–पुससम्म मात्र सकिने अनुमान गरिएको छ ।
नागढुंगा–नौबिसे सडक खण्ड साउन दश गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ भने नौबिसे–मलेखु खण्ड जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, प्राविधिक तथा भौगोलिक कठिनाइका कारण केही समय थप लाग्न सक्ने ओझाले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |