धादिङबेसी, चैत्र ३० गते ।
अस्मिता पोखरेल ।
धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७९ जेठमा सुरु भएको सह–लगानी खानेपानी अब अन्तिम चरणमा पुगेको हो ।
यस खानेपानी आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ का पाँच हजार १६४ घरधुरीका हजारौँ स्थानिय नागरीकहरु लाभान्वित हुनेछन् ।
धादिङबेसी लगायतका स्थानमा लामो समयदेखि खानेपानीको समस्या रहेको थियो । पानीको स्रोत नहुँदा स्थानियहरुलाई पर्याप्त पानी पुगेको थिएन । प्रायः पानीका स्रोत टाढा हुने र वर्षा सिजन बाहेक पानीको उपलब्धता न्यून हुने समस्याले स्थानीय समुदायलाई पीडित बनाएको थियो। अब घर घरमा धारो आउने भएपछि नागरीकहरु खुसी भएका छन् ।
हालसम्म ४९.३९ प्रतिशत वित्तिय र ५६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख विवेक खतिवडाले जानकारी दिनुभयो ।
अहिले धादिङको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानी सेवा पुर्याउनको लागि वितरण ट्याङकीहरूको निर्माण, प्रसारण पाइपलाइन जडान, र उपचार संयन्त्रहरूको कार्यहरु भइरहेको छ ।
अल्छिडाँडा (२०० घ.मी), अधिकारी डाँडा (२०० घ.मी), राम्चे (५० घ.मी), डाँडागाउँ (१०० घ.मी), र भानु पार्क (४०० घ.मी) मा वितरण ट्याङकीहरूको निर्माण कार्य सम्पन्न भइसकेको छ । कार्यालय भवनको ९० प्रतिशत निर्माण कार्य पनि पूरा भएको छ।
खतिवडाका अनुसार कुल ८६ किलोमिटर प्रसारण पाइपलाइनको निर्माण कार्य रहेकोमा ३८ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। हाल इजारा र प्रगति टोल पुछारबजारमा पाइपलाइनको काम चलिरहेको छ। साथै, १५० घरधुरीमा पानीको धारा जडान गरिएको छ भने, कुल ५१६४ घरधुरीमा पानीको धारा जडान गर्ने लक्ष्य राखिएको छ।
यद्यपि, भुलभुले क्षेत्रका लागि २५ घ.मी ट्याङकी निर्माण र ट्रिटमेन्ट प्लान्ट निर्माण कार्य भने बाँकी रहेको योजना प्रमुख खतिवडाले बताउनुभयो । कार्य सम्पन्न हुने समय २०८२ साल असार महिनासम्म तय गरिएको छ। निमार्ण कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा. लिका प्रबन्धक निर्देशक सहदेव खड्काले यो म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । २०८२ सालको असार भित्रमा काम सम्पन्न गर्ने निर्माण पक्षले प्रतिबद्धता जनाएको छ ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुुख भीम प्रसाद ढुंगानाले तिर्खामुक्त नगर बनाउने अभियानको साथ काम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ५० वर्षसम्म धादिङबेसीमा पानीको अभाव हुने छैन, र अर्को विकल्प पनि खोज्नु पर्दैन” ।
नगरबासीलाई खानेपानीको सहज आपुर्ति गर्नको लागि विभिन्न नियकासँग समन्वय गरेर काम गरीरहेको बताउनुभएको छ । उहाँले निर्माण पक्षले असार मसान्त सम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । नगरबासीले तिर्नुपर्ने रकम समेत नगरपालिकाले ब्यहोरोको ढुंगानाको भनाइ छ ।
नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनुभएका ढुंगानाले मेयरमा निर्वाचित भईसकेपछि दातृ निकाय, संघ र प्रदेश सरकारसँगको समन्वयमा ठुला ठुला खानेपानी आयोजना सम्पन्न गरिसक्नु भएको छ । ४६ करोड लागतमा निर्माण हुने उक्त खानेपानी आयोजना बागमती प्रदेशकै ठुला योजना भित्र पर्दछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |