करोडौंको भवन छ । विद्यालयमा एक से एक शिक्षक छन् । खेलमैदान, कम्प्युटर ल्याब, खेल सामग्री, बालमैत्री कक्षाकोठा र विद्यालयमै छ खाजा कार्यक्रम । शैक्षिक गुणस्तर वृद्धि गर्ने भनेर तीन तहका सरकारले विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् । तर विद्यालयका शिक्षकको प्रतिक्रिया हुन्छ- ‘विद्यार्थी पढ्नै मान्दैनन् ।’
यो एक ठाउँको नभएर देशभरकै साझा समस्या हो । शिक्षा क्षेत्र सुधारको लागि विभिन्न कार्यक्रम गर्नको लागि करोडौं रुपैयाँ छुट्याएको पाइन्छ । तर विद्यार्थीले किन पढ्न मन गरिरहेका छैनन्, अध्ययन गर्नका लागि कुनै कार्यक्रम सञ्चालन भएको पाइँदैन ।
घटना-१
घटना-२
कक्षा ९ मा पढ्ने एक बालकले आफ्नो हात पटक–पटक काट्ने र आफैंलाई क्षति पुर्याउने अनेकन् क्रियाकलाप गर्न थाले । टोलाउने, झगडा गर्ने, कुलतमा फस्ने, पढ्न नजाने, घरमा एक्लै बसिरहने, खाना नखाने जस्ता समस्या देखिन थालेपछि घरमा परिवारले निगरानी सुरु गरे । गाली र कुटपिट सुरु भयो । विद्यालयमा पनि शिक्षक र शिक्षिकाले राम्रो पढ्नको लागि दबाव दिन थाले । विद्यालयमै गएर परिवारको सदस्यले साथीका अगाडि गाली गरेपछि उनले विद्यालय नै छाडे ।
घटना-३
कक्षा ८ मा पढ्ने एक बालिकालाई प्रहरीले पक्राउ गर्यो । ७ कक्षासम्म पढाइ र व्यवहार राम्रो थियो । सामुदायिक विद्यालयमा अध्ययन गरिरहेकी उनले साथीभाइको लहलहैमा लागेर गाँजा र लागूपदार्थ खान थालिछिन् ।
धनमाल चोर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरी छलफल गरायो । लागूपदार्थ किन्नको लागि पैसा नभएपछि उनले घरकै पैसा चोरेर आफ्नो लत मेटाउनको लागि लागूऔषध किनेर खाने गरेकी रहिछिन् ।
घटना-४
एक विद्यालयको कक्षा ९ मा पढ्ने बालकलाई मोबाइलमा लत बस्यो । उनी रातैभरि मोबाइल गेम (फ्री फायर) खेल्न थाले । मोबाइल विना एक दिन पनि कटाउन नसक्ने भएपछि उनीमा रिसाउने, पढ्न मन नगर्ने, एक्लै बस्ने, नबोल्ने, नखाने र झगडा गर्ने समस्या देखिन थाल्यो । विस्तारै उनी विद्यालय गए पनि कक्षामा सुत्ने, गृहकार्य नगर्ने र साथीको घरमा बस्न मन गर्न थाले । विस्तारै उनको घरपरिवारसँग सम्बन्ध बिग्रियो ।
माथि उल्लिखित सन्दर्भ प्रतिनिधि घटना मात्र हुन् । आज अधिकांश बालबालिकालाई सोध्ने हो भने उनीहरूको एउटै गुनासो हुन्छ– हाम्रो भावना कसैले बुझ्दैनन् ।विगतकै जसरी बालबालिका हुर्काउँछु भन्ने अभ्यासले गर्दा आज समस्या आइरहेका छन् । हिजो र आजको समय र परिस्थिति परिवर्तन भएको छ तर बालबालिका हुर्काउने शैलीमा सकारात्मक परिवर्तन आएको छैन ।
बोक्न नसक्ने जिम्मेवारी बोकाउँदा बालबालिका सानै उमेरदेखि नै समस्यामा जेलिएर बाँच्न बाध्य छन् । स–साना कुराहरूले पनि उनीहरूको मन दुख्छ भन्ने ज्ञान नहुँदा हरप्रहर मन दुखाइरहेका छौं ।त्यसैले सानै उमेरदेखि नै बालबालिकामा मनोसामाजिक समस्या देखिइरहेका छन् । यो उनीहरूको चाहना नभएर अरूले गर्ने व्यवहारको प्रतिफल हो । आफ्नै व्यवहारबाट बालबालिकामा समस्या देखिएपछि अभिभावक चिन्तित देखिन थालेका छन् ।
अभिभावककै गुनासो बढी
सन्तानको व्यवहारबारे अभिभावकलाई सोध्दा लामो जवाफ भेटिन्छ । मेरो जस्तो बालबालिका त अरू कसैको छैन होला भन्छन् । आफ्नो सन्तानका दर्जनौं नराम्रा व्यवहार एक मिनेटमा सम्झने हाम्रा अभिभावक एउटै राम्रो व्यवहार सम्झन लामै समय लगाउँछन् । गुनासो सुन्ने अभिभावकले बालबालिकालाई आफ्नै गुनासो सुनाउन थालेपछि समस्या के होला ? बालबालिकाले आफ्नो भावना र गुनासो कसलाई सुनाउने ?यसरी प्रत्यक्ष-अप्रत्यक्ष रूपमा बालबालिका आफ्नै घर र विद्यालयमा पिल्सिएर बाँच्नुपर्ने अवस्था सिर्जना भइरहेको हुन्छ । अभिभावकले आफ्ना बालबालिका राम्रो बनाउने नाममा गरेको गलत व्यवहारको प्रतिफलमा समस्या दिनानुदिन बढिरहेको छ । बालबालिका असल भएनन् भन्छांै तर के कारणले यस्तो भए भनेर खोजिपसेका छैनौं ।
शिक्षक नै तनावमा
विद्यालयका शिक्षकहरू आफ्नै बालबालिकाको व्यवहारबारे गुनासो गर्छन् । पिटेर र सजाय दिएर सुधारेको गलत उदाहरण पेश गर्छन् । सजाय दिन नपाउने नीतिप्रति गुनासो गर्छन् ।जति पढाए पनि बालबालिकाले नबुझ्ने, ध्यान नदिने, कक्षाकोठामा बस्न नरुचाउने, कक्षाबाट बाहिर बस्न खोज्ने, होमवर्क नगर्ने, मोबाइल बढी हेर्ने, अतिरिक्त क्रियाकलापमा सहभागी नहुने, रिसाउने, थर्काउने र टोलाउने समस्या देखेपछि शिक्षकहरू कसरी पढाउने भनेर चिन्तामा देखिन्छन् । शिक्षकलाई अब बालबालिका सुधार्न सकिंदैन कि भन्ने चिन्ता देखिन्छ ।
बालबालिकामा समस्या नै समस्या
अहिले अधिकांश बालबालिकामा व्यावहारिक तथा आचरणजन्य समस्या बढी भएको देखिन्छ । मैले परामर्शको क्रममा नुवाकोट र धादिङका विद्यार्थी भेट्दा १०० मध्ये ३० मा मनोसामाजिक समस्या रहेको पाएँ ।तीमध्ये ५ देखि ७ प्रतिशतमा आत्महत्याको जोखिम रहेको देखिन्छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीसँग परामर्श गर्दा उनीहरूमा कुनै न कुनै समस्या पाएँ । भोलिका देशका कर्णधार हाम्रा बालबालिकामा यस्ता समस्या देखिंदा पनि सम्बन्धित पक्षले कुनै चासो देखाएको पाइँदैन । हामी उल्टो समस्या थप्न उद्यत छौं । यो गल्तीको परिणाम हामीले भोग्नुपर्छ ।
विद्यार्थीलाई मनोपरामर्श
बालबालिका भावनात्मक हिसाबले परिपक्व हुँदैनन् । उनीहरूलाई सानो–सानो कुराले पनि मनमा चोट पुगिरहेको हुन्छ । घर र विद्यालयमा गरिने व्यवहार, साथीसँगीको भनाइले पनि उनीहरूको मनमा गहिरो चोट पुर्याइरहेको हुनसक्छ । उनीहरूले यसबारे कसैलाई भन्ने अवसर पाइरहेका हुँदैनन् । साना–साना कुराले पनि उनीहरूलाई गहिरो प्रभाव पारिरहेको हुनसक्छ ।
बालबालिकाका उमेर अनुसारका आफ्नै समस्या हुन्छन् । हामी समस्या मात्र देखाउँछौं तर समाधानको उपाय सिकाउँदैनौं। पढ्नमा किन कमजोर भयो ? भनेको किन मानिरहेको छैन ? मोबाइल किन बढी चलाइरहेको छ ? कमजोरी कहाँ भइरहेको छ ? समस्या के हो ? बालबालिकाको भावनात्मक समस्या पहिचान नै गर्न सक्दैनौं ।
उनीहरूको भावना बुझेर व्यवहार गर्ने हो भने वयस्कलाई भन्दा बालबालिकालाई परामर्शद्वारा सहज रूपमा व्यवहार परिवर्तन गर्न सकिन्छ । एक दिन साथी नबोल्दा वा विद्यालय नआउँदा पनि उसलाई अप्ठेरो भएको हुनसक्छ । घरमा हिंसा गर्ने, डर देखाउने, पढ्न मात्र दबाव दिने, प्रत्येक कामलाई निगरानीमा राख्ने र खुला रूपमा प्रस्तुत हुन नदिने, विद्यालयमा शिक्षक, शिक्षिकाहरूको व्यवहार, गाली, साथीको अगाडि दिइने सजाय, साथीहरूले जिस्क्याउने, होच्याउने लगायतको व्यवहारले पनि बालबालिकालाई असहज बनाइरहेको हुन्छ ।सहनसकुन्जेल उनीहरूले सहन्छन्, तर विस्तारै ती समस्या व्यवहारमा देखिन जान्छ । हामीलाई बालबालिकाले जानीजानी गरेको भन्ने हुन्छ तर त्यो त उनीहरूले भोगिरहेको समस्याको प्रतिक्रिया मात्रै हो ।
मनोपरामर्शको सहयोग
बालबालिकाले आफ्नो मनको पीडा र दुःखलाई व्यक्त गर्न सक्दैनन् । र, ती भावनालाई सहज रूपमा हामीले स्वीकार गर्न सकिरहेका हुँदैनौं । बालबालिकाको स्वभाव हो कि समस्या, पहिचान गर्नुपर्छ । सबैभन्दा पहिला उनीहरूको भावना सुन्नुपर्छ । समस्याको पहिचान गर्नुपर्छ ।सकारात्मक पक्षको बढी चर्चा र आत्मविश्वासको कुरा गर्नुपर्छ । चित्र, स्टोरी टेलिङ, अनुच्छेद पूरा गर्ने लगायत विधि प्रयोग गरी उनीहरूको भावना अभिव्यक्त गर्न दिनुपर्छ । चित्र तथा छलफल विधिबाट मनमा भएको नकारात्मक सोच हटाएर सकारात्मक सोचको विकास कसरी गर्न सकिन्छ भनेर परामर्श गर्नुपर्छ ।
कसरी सोच्ने ? सकारात्मक रूपमा सोच्दा के फरक पर्छ, तनाव हुँदा के कस्ता सकारात्मक विधिहरू प्रयोग गरी सामना गर्ने भन्ने विषयमा परामर्श गर्नुपर्छ । असल र समाजमा राम्रो योगदान पुर्याएको व्यक्तिहरूको विषयमा चित्र मार्फत उनीहरूलाई कसरी राम्रो भयो, के के व्यवहार थियो होला भनेर सोच्न लगाउनुपर्छ ।मनमा आउने नकारात्मक कुराहरूले मनमा, शरीरमा, व्यवहार र सम्बन्धमा के असर परिरहेको छ सोच्न लगाउनुपर्छ । समस्याको कसरी सामना गर्न सकिन्छ भन्ने विषयमा बालबालिकासँगै बसेर छलफल गर्नुपर्छ ।मनमा खेलिरहने अनेकन् प्रकारका प्रश्न तथा समस्या सेयर गर्दा उनीहरूको मन शान्त हुन्छ र पुनर्ताजगी महसुस गर्छन् । उनीहरूलाई थप ऊर्जा मिल्छ जसले गर्दा उनीहरूमा देखिएका समस्या विस्तारै कम हुँदै जान्छन् ।
(लेखक थापा धादिङको नीलकण्ठ नगरपालिकाको मनोसामाजिक परामर्शकर्ता हुन् ।)
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |