धादिङ, १३ चैत्र ।
अस्मिता पोखरेल ।
चिटिक्क परेका घर । सबै घरहरू एकै जस्तो देखिन्छन्, सफा सुन्दर । बाटोमा विभिन्न प्रकारका रंगीन फूलहरू, पाहुनालाई न्यानो स्वागत गर्ने स्थानीयहरू । यो हो चैलिङ गाउँ, जुन अब अर्गानिक होमस्टेको रूपमा चिनिन थालेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं ८ मा रहेको चैलिङ गाउँ । पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ ८ किलोमिटर माथि डाँडामा रहेको चैलिङ गाउँ अगार्निक होमस्टेको रूपमा विकास हुन थालेको छ ।
यस गाउँमा शत प्रतिशत नेवार समुदायको मात्रै बस्ती रहेको छ । नेवारी कला, संस्कृतिसँगै अर्गानिक खानाको स्वाद लिन पाइन्छ । होमस्टेमा पाहुनालाई लोकल चामलको भात, मकैको ढिँडो, लोकल कुखुरा, लोकल रक्सी, अर्गानिक तरकारी, मह, घिउ, दही र दूध जस्ता शुद्ध परिकार पस्किन्छन् । यी परिकार न केवल स्वादिष्ट हुन्छन्, तर शारीरिक रूपमा पनि निकै लाभदायक मानिन्छन्।
चैलिङबासीले आफ्नो गाउँमा आउनेहरूलाई स्थानीय परिकारसँगै सांस्कृतिक कार्यक्रमहरूबाट समेत भरपुर मनोरञ्जन दिने गरको होमस्टे संचालक कृष्ण श्रेष्ठले बताउनुभयो । विभिन्न जातजातिका कला, संस्कृति, भेषभूषा परम्परा, रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
गाउँमा रहेका ३२ घरमध्ये १० घरलाई चैलिङ सामुदायिक होमस्टे, पाहुना राख्ने घरको रूपमा तोकिएको छ। होमस्टेलाई व्यवस्थित गर्न स्थानीय युवा व्यवसायी तथा सामाजिक अगुवा कृष्ण श्रेष्ठको नेतृत्वमा चैलिङ सामुदायिक होमस्टे व्यवस्थापन समिति गठन गरिएको छ। समितिले पाहुनाको संख्या व्यवस्थापन, खानाको गुणस्तर, र सेवा सुविधा सम्बन्धी नीति बनाउँदै आएको छ। आगामी दिनमा होमस्टेको संख्या थप्ने योजनामा रहेको श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समय मानिसहरू सहर र विदेशको आकर्षणमा केन्द्रित छन् । होमस्टेले गाउँको माहौलमा फर्कने एक राम्रो विकल्प प्रस्तुत गरेको छ।
नेपाल सरकारले २०८१/८२ मा ‘नयाँ गन्तव्य गाउँ’ को रुपमा तीन वटा गाउँलाई घोषणा गरेको थियो । जसमा चैलिङ गाउँ पनि पर्न सफल भयो।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर (विवेक) थपलियाले चैलिङलाई लोकल उत्पादनको प्रवद्र्धन गर्ने र विषादीमुक्त खाद्य पदार्थहरूको विशेष केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गाउँमा पर्यटकलाई थप व्यवस्थित बनाउन दुईतले सामुदायिक भवन निर्माण गरिएको छ। करिब ३३ लाख रुपैयाँको लागतमा बनेको भवनमा एक्सन नेपाल र डिसीएले २३ लाख रुपैयाँ सहयोग गरेको छ भने प्रदेश सरकारले १० लाख रुपैयाँ अनुदान दिएको छ। साथै, स्थानीय बासिन्दाहरूले १५ प्रतिशत श्रमदान गरी भवन निर्माणमा योगदान दिएका छन्।
काठमाडौँदेखि झण्डै चार घण्टामा पुग्न सकिने यो ठाउँ सहरिया कोलाहल र प्रदूषणबाट मुक्ति चाहनेहरूको लागि गज्जबको गन्तव्य हुन सक्छ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको चरौँदी, ज्यामिरेघाट, मजिमटार लगायतका ठाउँबाट त्यहाँ जाने बाटो बनेको छ।
चैलिङ गाउँ केवल एउटा गाउँ मात्र होइन, यो एउटा संस्कृति, परम्परा र ग्रामीण पर्यटनको उत्कृष्ट मिश्रण हो । होमस्टे अवधारणाले यहाँका स्थानीयहरूको आर्थिक स्तर उकास्दै गाउँलाई पर्यटनको केन्द्र बनाउने दिशामा अघि बढाइरहेको छ। यदि तपाईंको खोज मौलिक अनुभव, स्वादिलो परिकार, र शान्त वातावरण हो भने, चैलिङ गाउँ तपाईंको अर्को यात्रा गन्तव्य बन्न सक्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |